Header Ads

  • Breaking News

    प्रदेश ३ लाई लुम्बिनी भ्रमणको निम्तो

    १८ वैशाख, बुटवल । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागेको प्रदेश ५ सरकारले प्रदेश नं.३ बासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ ।

    लुम्बिनी भ्रमण वर्ष प्रचारप्रसार उपसमितिले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालमार्फत बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि प्रदेश नंं. ३ का बासिन्दालाई निम्तो दिएको हो ।

    सो अवसरमा बोल्दै मन्त्री नेपालले लुम्बिनी भ्रमणको निम्तोलाई सहर्ष स्वीकार गरेको उल्लेख गर्दै भ्रमण वर्ष सफल बनाउन प्रदेश ३ सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    मन्त्री नेपालले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेश ५ को मात्र नभई नेपालकै महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक सम्पदा भएकाले सबै प्रदेश र संघीय सरकारले समेत लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।

    लुम्बिनी विश्वभरका डेढ अर्ब बौद्धमार्गीको आस्थाको धरोहर भए पनि यसको उचित बजारीकरण हुन नसकेको उनले औंल्याए । ‘हामीले लुम्बिनी जस्तो विश्व सम्पदाको मार्केटिङ गर्न सकिरहेका छैनौं’, ‘मन्त्री नेपालले भने, ‘भारतले हुँदै नभएका ठाउँ बनाएर लुम्बिनी भन्दै प्रचार गरेको छ, हामीले भएको कुराको पनि राम्रोसँग मार्केटिङ गर्न सकेका छैनौं ।’ मार्केटिङ गर्न जान्ने हो भने लुम्बिनीको एक चिम्टी माटो र १० थोपा पानी बेचेरै बर्सेनि करोडौंं कमाउन सकिने मन्त्री नेपालले सुझाए । मायादेवीले सुत्केरी ब्यथा लागेपछि सालको रुखमा आड लिएर बुद्धलाई जन्म दिएकाले सालको काठमा बुद्ध मुर्ति बनाएर पनि बौद्धमार्गीलाई बेच्न सकिने मन्त्री नेपालले सुझाए । लुम्बिनी भ्रमण वर्षबाट अन्य प्रदेशले पनि सिक्नुपर्ने भन्दै मन्त्री नेपालले प्रदेश सरकारहरुबीच पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सकिने औंल्याए । भ्रमण वर्ष प्रचारप्रसार उपसमिति संयोजक भरत केसीले जेठ ४ गते बुद्ध पूर्णिमाका दिन शुरु हुने भ्रमण वर्ष एक वर्षभर चल्ने जानकारी गराउँदै वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य रहेको बताए । लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाइ लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको बताए । उनले भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, सुजाता खीर उत्सव, लुम्बिनी फुड फेष्टिबल,सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविरहरू र स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर) को व्यवस्था मुख्य आकर्षणको रुपमा रहने जानकारी गराए ।

    भ्रमण वर्षमा बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी आउने पर्यटकलाई बुद्धको क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौेराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुमाउने तयारी रहेको छ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको मन्त्रालयका शाखा अधिकृत खेम थापाले जानकारी गराए ।

    प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको छ । यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

    पत्रकार सम्मेलनमा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारहरुबीच आपसमा सहकार्य हुनुपर्ने धारणा राखेका थिए । प्रचारप्रसार उपसमितिले सातवटै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सातै प्रदेशबासीलाई लुम्बिनी भ्रमणको निम्ता दिएको छ ।



    from Online Khabar http://bit.ly/2UR4ARy

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728