विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण
खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ।
नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ। विभागका अनुसार हालसम्म मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा ढल निर्माण तथा प्रशोधन आयोजना काठमाडौं सम्पन्न भएको छ।
विभागका ढल व्यवस्थापन शाखाका प्रमुख टीकाबहादुर चौधरी विभागले अहिले मागका आधारमा १०७ आयोजनाको ढल निर्माणसम्बन्धी मापदण्ड तयारी र गुरुयोजना निर्माण गर्ने काम गरिरहेको बताउँछन्। ‘गत आर्थिक वर्षमा २१ र यस आर्थिक वर्षमा ८६ आयोजना माग भएकाले उक्त आयोजनाको गुरुयोजना निर्माण गरिरहेका छौँ,’ उनी भन्छन्।
ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा खानेपानी र ढल निकास गर्ने उद्देश्यले विभाग स्थापना भए पनि विभागले ढल निकासको क्षेत्रलाई प्राथमिकता नदिँदा काम हुन नसकेको उनको भनाइ थियो। विभागले हाल देशभरका ५१ जिल्लामा ढल निर्माण तथा प्रशोधनका लागि गुरुयोजना तयार गरिरहेको छ। नागरिकले प्रयोग गर्ने पानीमध्ये ८० प्रतिशत प्रयोग गरेपछि खेर जाने भएकाले त्यहीअनुसारको गुरुयोजना विभागले बनाउँदै आएको छ।
विभागका इञ्जिनियर ऋषिप्रसाद रिमाल विभाग २०२९ सालमा स्थापना भए पनि ढल निकासको काम विसं २०५६ देखि प्राथमिकतामा परेकोे बताउँछन्। थैव ढल निर्माण तथा प्रशोधन आयोजना र हरिसिद्धि ढल निर्माण तथा प्रशोधन आयोजना सबैभन्दा पुरानो आयोजना भएको र ती अन्तिम चरणमा पुगेको इञ्जिनियर रिमालको भनाइ थियो।
उनी विभागको नाम खानेपानी तथा ढल निकास विभाग भए पनि विभागका लागि छुट्याइएको अधिकांश रकम खानेपानीमा खर्च हुँदै आएकाले ढल निकाससम्बन्धी काम ओझेलमा पर्दै गएको बताउँछन्।
एक सय सात आयोजनामध्ये १० आयोजना काठमाडौंमा निर्माण हुँदैछन्। हस्तिनापुर ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, स्यूचाटार ढल निर्माण तथा प्रशोधन आयोजना कलंकी, ढल्पा चिखु ढल निर्माण तथा प्रशोधन आयोजना कीर्तिपुर, चपली ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, शान्तिमिलन ढल निर्माण तथा प्रशोधन आयोजना टोखा, डाँछी ढल निर्माण तथा प्रशोधन आयोजना कागेश्वरी र गोलढुंगा विश्वशान्ति ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ काठमाडौंमा निर्माण हुन लागेका आयोजना हुन्।
खेर गएको पानी तथा ढललाई प्रशोधन गर्नका लागि जग्गा नहुँदा ढल निकासको काममा समस्या हुँदै गएको विभागको भनाइ छ । ढल व्यवस्थापन शाखाका प्रमुख चौधरी ढल निकासका लागि चाहिने प्रशोधन केन्द्र निर्माणका लागि विभागले स्थानीय जनप्रतिनिधिसँग छलफल चलाइरहेको बताउँछन्।
ढल व्यवस्थापनका लागि काठमाडौं उपत्यका ‘बेष्ट वाटर म्यानेजमेन्ट’ परियोजनासमेत काम गरिरहेको छ। काठमाडौंबाट निस्कने ढल सिधै खोला तथा नदीमा लगेर मिसाइने परम्परा भए पनि नदी व्यवस्थापनका लागि विभिन्न व्यक्ति र संघसंस्था जुट्न थालेपछि ढल व्यवस्थापनका लागि सरकारलाई चुनौती थपिँदै गएको बताइएको छ।
रासस
from Setopati Nepal's Online Newspaper http://ift.tt/2CisHUl
No comments
Thanks for comments....