Header Ads

  • Breaking News

    तरकारीमा मात्राभन्दा बढी विषादी

    प्रशान्त वली, काठमाडौं

    भारतबाट आयात हुने अधिकांश हरियो तरकारीमा विषादी प्रयोग भएको पाइएको छ। नमुनाको रूपमा केही तरकारीको गुणस्तर परीक्षण गरिँदा भेडे खुर्सानी, गोलभेडा, भन्टा र काउलीजस्ता तरकारीमा विषादी बढी मात्रामा प्रयोग हुने गरेको छ। विषादी हालिएको तरकारी आयात भइरहेको पाइएको बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मानबहादुर क्षत्रीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

    खुला सीमाका कारण तरकारी जाँचेर आयात गर्न नसकिँदा केन्द्रीय राजधानी काठमाडौंमा विषाक्त तरकारी भित्रिएको क्षत्रीले बताउनुभयो।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेजेन्द्र पौडेलका अनुसार अहिले काठमाडौंमा दैनिक ६ सय ५० देखि ७ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको छ। यसमध्ये अधिकांश बन्दा, खुर्सानी, पर्वर, इस्कुस, प्याज, आलु भारतबाट ल्याइने गरेको उहाँले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।उहाँले पनि नमुनाका रूपमा परीक्षण गरिएको तरकारीमा विषादी भेटिएको स्पष्ट पार्नुभयो।

    यसै गरी मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं आउने तरकारीमा पनि विषादीको केही मात्रा भेटिएको बताइन्छ। केही समयअगाडि काभ्रेपलाञ्चोक जिल्लाबाट ल्याइएको टमाटर, काउली र बन्दामा आवश्यकताभन्दा बढी विषादी भेटिएको बाली संरक्षण निर्देशनालयले जनाएको छ।

    विषादी परीक्षणका लागि सरकारले ६ स्थानमा स्पेक्ट्रो फोटो मिटरु अर्थात् विषादी परीक्षण मेसिन जडानसमेत गरिसकेको छ। निर्देशनालयका अधिकृत क्षत्रीले तरकारीको गुणस्तर जाँचका लागि प्याक्ट नामक संस्था र नेपाल सरकारको समन्वयमा करिब १ करोड ४० लाख रुपियाँमा प्रदेश नम्बर एकको बिर्तामोड, २ को नवलपुर सर्लाही, ३ को कालीमाटी, ४ मा पोखरा कास्की र ७ को अत्तरियामा ती मेसिनहरू जडान गरिएको बताउनुभयो।

    बाली संरक्षण निर्देशनालयमा कार्यरत कृषि प्राविधिक जागेश्वर शर्माका अनुसार रातो, पहेंलो र नीलो लेभलको डिब्बामा राखिएको विषादी प्रयोग गर्न नमिले पनि हरियो लेभलको विषादी तरकारीको प्रकृति हेरेर प्रयोग गर्नकै लागि तयार गरिएको हो। कृषि प्राविधिकको सल्लाहबमोजिम मात्रै विषादी छर्किनुपर्ने निर्देशनालयले जनाएको छ। कुल विषादीको तीन प्रतिशत घातक अर्थात् प्रतिबन्धित विषादी किसानहरूले प्रयोग गर्ने गरेको निर्देशनालयको तथ्याकंमा उल्लेख छ।

    नेपाल(भारत सीमा क्षेत्रबाट लुकिछिपी रातो डिब्बाको विषादी भित्रिने गरेको पाइएको छ। चिकित्सकहरूले प्रतिबन्धित र मात्राभन्दा बढी विषादी प्रयोग गर्दा क्यान्सर, पक्षघात, टाउको ठूलो हुने, प्यारालाइसिस, गर्भ तुहिनेजस्ता समस्या देखापर्ने बताएका छन्। साथै, विषादीले मुख, नाक र छालामा सीधै असर गर्ने भएकाले यसको प्रयोग गर्दा मास्क, पूरा शरीर छोप्ने कपडा लगाउनुपर्ने र विषादी भण्डारण, ओसारपसारजस्ता कार्यमा विशेष ख्याल गर्नुपर्ने निर्देशनालयको सुझाव छ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2CjBMfR
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728